Friday, May 9, 2014

"सफल सारथी तिमी"



पहिलो दिनको भेट अनि त्यो पनि डेढ घण्टा लामो कुराइ तैपनी कति मिठो थियो त्यो पल । तिमीले सधैं कुराउँथ्यौ है मलाइ तर जति कुर्न परे पनि फिटिक्कै रिस उठ्थेन मलाइ । वास्तवमै अविष्मरणीय थिए ती एक एक क्षण । जो व्यक्तीले बिहे अघिको प्रेमयात्राको अनुभुती गर्न पाउँदैन उसले सायद ठुलै कुरो गुमाउँछ होला भन्ने भान हुन्छ मलाइ । यसर्थ पनि म आफुलाइ भाग्यमानी ठान्छु अझ त्यसमा तिमी जस्तो साथी पाउनु त मेरा लागि अहोभाग्य नै हो । समय न ठहर्‍यो परेली झिमिक गरे झैं लाग्छ झण्डै एक दशक बितीसकेछ । विगतका दिन सम्झिंदा अहिले अचम्म लाग्छ तिमीलाइ मैले शुरुमै सतर्क गराएको थिएँ लु है हामी मात्र साथी बन्न सक्छौं त्यो भन्दा परको कुरा कहिले नी दिमागमा नआओस् र पछि त्यही मान्छे सुटुक्कै मनभित्र पसेको पत्तो समेत पाइन । 

  परिवारका लगायत समाजको विरोधलाइ वास्ता समेत नगरी सम्बन्धलाइ वैधता दिएको हिजै मात्र हो जस्तो लाग्छ । एक दशक लामो यात्रा पार गरिसकीएछ तर पनि हाम्रो सम्बन्ध अझैं उस्तै, उस्तै अनुभुती, त्यही खालको छटपटी कायमै छ । यी सबको पछाडि पक्कै पनि एकअर्काप्रतिको माया तथा प्रगाढ विश्वासकै खेल  छ होला । विवाह जीवनको एक महत्वपुर्ण पाटो हो, त्यसैले नै होला मान्छेहरु यसको बारेमा हतपत निर्णय लिन हिचकीचाउँछन् । म पनि आम मान्छे न ठहरे यसबाट कसरी अछुतो रहन सक्थें । तर खै कहाँबाट कसरी आँट मिल्यो र तिमीसँग जीवन बिताउन तयार भयो यो मन अनी आफ्नो बोल्ड डिसीजन सुनाइहालें आफ्नो परिवारलाइ । आज मलाइ त्यो बेला आफुले गरेको निर्णयप्रति रत्तीभर पनि पछुतो छैन त्यो सायद तिम्रै कारणले हो । यो भागदौड, सुखदुख अनि हाँसो आँशु मिश्रित दशक लामो यात्रामा तिम्रो साथ मेरा लागि सदैव प्रेरणादायी नै रह्यो । हरेक मोडमा पथ प्रदर्शक, अभिभावक, रक्षा कवज भएर उभियौ र त आज म यहाँसम्म पुग्न सफल छु । कुनै पल वा कुनै विषयमा रोकतोक बाधा व्यवधान कहिंकतै महसुस गर्ने मौका पाइन त्यसैले त खुशी छु म । तिमी जस्तो जीवनसाथी सायदै कसैको नसिवमा होला, वास्तवमै तिम्रो सकारात्मक मार्ग निर्देशले मलाइ सधैं अघि बढ्न उर्जा थप्ने काम गर्‍यो ।


हाम्रो जस्तो समाज जहाँ पितृसत्तात्मक सोच अझैं पनि जकडिएर बसेको छ । महिलाका लागि हरेक स्टेप च्यालेन्जीङ्ग छ । हाम्रो कुलघरानमा श्रीमानलाइ तिमी भन्ने पहिलो व्यक्ति म नै हुँला सायद, त्यो पनि तिम्रो कारणले नै । तिमीले भनेको त्यो कुरा मलाइ अझैं याद छ कि "वी आर इक्वेल नो हजुर नो तपाइऽऽऽऽऽऽऽऽऽऽऽऽऽ" यो कुरा कुरामा मात्र सिमीत भए त मलाइ पनि कस्तो लाग्थ्यो थाहा छैन तर व्यवहारमा तिमीले कहिं कतै तुक समेत छाडेनौ । त्यस्तो माहोलमा मलाइ अगाडि बढाउन तिमीले एक सफल सारथीको भूमिका निर्वाह गर्‍यौ । यी र यस्ता कैयौं पल म कसरी बिर्सन सक्छु र । सबै कुरा भनेर वा यहाँ लेखेर साध्यै छैन र यी तुच्छ दुइ चार शब्दभित्र अटाउन पनि सकिंदैन । ती मनभित्रका मायाका छालहरु, अनि तिमीप्रतीको अटुट स्नेह र विश्वासलाइ यहाँ दर्शाउन पनि सक्दिन म । तिम्रो माया, स्नेह मेरा लागि सदा अतुल्य अनि अमुल्य छ र मृत्युपर्यन्त रहिरहनेछ ।

तिम्रो सकारात्मक बिचार अनि प्रेरणाले मलाई सधै शिखर चुम्न सघारहेको छ र सघाइरहनेछ । तिम्रो मिठो साथ अनि अटुट विश्वास जनम जन्मान्तर सम्म पाइरहनेछु भन्ने विश्वास छ । मेरो जीवनमा तिम्रो कुन स्थान छ भनेर म शब्दमा बयान गर्न त सक्दिन । तिमी जे छौ जस्तो छौ मलाई स्विकार्य छौ र भैरहनेछौ । आजको यो बिशेष दिनमा सँगै हुन नपाएको सायद यो दोश्रो पटक हो । आजको यो दिनमा तिमी दुरीका हिसावले टाढा भएपनि मनको सामिप्यमा सदैव छौ र रहिरहनेछौ । यो विशेष दिनको तिमीलाइ धेरै धेरै शुभकामनाऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽ सयौं जुनीसम्म म तिम्रो भइरहन पाउँ यहि प्रार्थना गर्दछु ।


Wednesday, February 12, 2014

"कसरी"


भाँचिएको हाँगा हुँ म, जोगाउँछौ मलाइ कसरी ।
बालुवाको घर हुँ म, पुर्ण बनाउँछौ मलाइ कसरी ।।

सिमा नाघिसकेको नदि हुँ म, फर्काउँछौ मलाइ कसरी ।
चितामा सजिसकेको लास हुँ म,बिउँताउछौ मलाइ कसरी ।।



Wednesday, January 15, 2014

"धमिलो याद"




यादमा मात्र सिमित तिमी, 
आज फेरि सल्बलायौ।
मनमष्तिस्कमा धेरै पछि, 
खलबली मचायौ ।।

किन किन आज मलाइ, 
तिम्रो यादले सताइराछ ।
मन मष्तिष्कले तिम्रै नाम, 
घरी घरी जपाइराछ ।।

विगतका धमिला आकृतिलाइ, 
सम्झिन मन लाग्यो ।
तिम्रैलागि छटपटिन अनि, 
तिम्रै लागि तड्पिन मन लाग्यो ।।

Thursday, December 12, 2013

"एकछिनको जाम"

एकछिनको जाम, अनि आँखा अघिको त्यो तामझाम
एक जोडी वैंशले उन्मत्त हुइँकिदै आए
 झ्याप्प रोकिए बाइक नै ठोक्किने गरी

घरी हाँस्छन्, घरि चिच्याउँछन्, घरि टाँसिन्छन

घरी के के गर्छन्, सबको ध्यान तान्ने गरी

हग्नेलाइ भन्दा देख्नेलाइ लाज
वरिपरीका मान्छेहरु मुख छोप्दै थिए, मुखामुख गरी

एकैछिनको जाममा मिल्ने र सक्ने जति सबै सकाए
लाजलाइ नै नङ्ग्याउने गरी



Tuesday, December 10, 2013

"त्यसैको फल होला भोग्दैछु म अैले"

दुनियाँले सुनाउँदा वास्तै गरिन मैले
आलटाल गरि गरि हिंडीदिएँ जैले
त्यसैको फल होला भोग्दैछु म अैले !!

विश्वास गरें हदैभन्दा बढि सायद मैले
वकालत गर्दै हिंडे तिम्रै लागि जैले
त्यसैको फल होला भोग्दैछु म अैले !!


बदलिसकेको रैछौ सायद, ख्याल गरिन कैले
आफैलाइ दोषी ठान्छु अरुलाइ के दोष दिउँ मैले
त्यसैको फल होला भोग्दैछु म अैले !!

थाहै नपाइ पराइ भएछौ, चाल पाइन कैले
अन्धभक्त भएछु कि भन्ने लाग्छ अैले
त्यसैको फल होला भोग्दैछु म अैले !!

पुष्टी भयो आँखै अघि, प्रमाण पाएँ जैले
बाँच्नु मर्नु एउटै भयो होश गुमाएँ मैले
त्यसैको फल होला भोग्दैछु म अैले !!

Wednesday, October 23, 2013

आज कुन चाड हो ?

सांझ पर्न लागिसकेको थियो । अस्ताउने तरखरमा रहेको सूर्यले डाँडापारीबाट टुलुटुलु हेरिरहेको थियो । मलिन मुद्रामा निराशा सहित आज पनि माया बसपार्कबाट घर फर्कंदैछिन् । आज लगातार तीन दिन भइसक्यो उनी निराश भई फर्किन थालेको । बसका यात्रीहरुको भारी बोकी आफ्ना दैनिक गुजारा गर्ने गर्थिन् उनी । तर, यस पटक लामो बन्दको कारण उनको दैनिक क्रियाकलाप पनि ठप्प भएको छ ।

घर गएर छोराछोरीलाई के भन्ने के खान दिने यस्तै कुरा मनमा खेलाउँदै बल्लतल्ल घर पुगिन् माया । कतिबेला आमा घर आइपुग्लिन र खाने कुरा खान पाइएला भन्ने पर्खाइमा बसेका उनका दुइ छोरी र एक छोरा उनलाइ देख्नासाथ झ्याउँझ्याउँ गर्न थालिहाले भोक लाग्यो भोक लाग्यो भन्दै । हुन पनि किन नभनुन् आज तीन दिन भइसक्यो बिचराहरुको पेटमा एक दाना अन्न नपरेको । बन्दको कारणले छोराछोरीको भार थाम्न नसक्ने भैसकेकी थिइन् बिचरी माया । कुनै उपाय थिएन उनको सामु, अन्यत्र केहि काम पाइँदैन । जुन काम पाउँथिन त्यसको कुनै निश्चीतता थिएन ।

फकाइ फुल्याइ पानी खुवाउँथिन अनि सुताउँथिन आफ्ना छोराछोरीलाइ उनले । यहि दिनचर्या थियो उनको आजसम्म । तर आज त असह्य भइसक्यो उनीहरुलाइ । आज पानी खाएर सुत्न सकिरहेका छैनन् उनीहरु । माया आफैं पनि ग्रस्त थिइन भोकले । समय र परिस्थितिले कस्तो मोडमा ल्याइदिएको छ उनलाई । उनका श्रीमानले संसार छोडेको पनि चार वर्ष भइसक्यो । उनी एक्लैले जसरी तसरी घर धानिरहेकी थिइन् । केहि बेरपछि आफ्ना छोराछोरीलाई केहि खानेकुरा ल्याएर आउने आश्वासन दिंदै घरबाट बाहिर निस्कीन् । तर उनको हात थाप्ने ठाउँ थिएन । जो जो चिनेजानेका थिए उनीहरु सबै उनी जस्तै अवस्थामा थिए । गन्तव्यहिन पाईला अघि बढाइरहेकी थिइन् उनले । हिँड्दा हिँड्दै उनी गाउँका धनी भनि कहलिएका हरि सुब्बाकहाँ पुगिन् । उनलाइ होश पनि थिएन कसरी उनी त्यहाँसम्म पुगिन् । अर्धचेतन अवस्थामा उनी हरि सुब्बासँग पैसा दिन आग्रह गर्दै थिइन् । केहि छिनको वार्तालाप पछि हरि सुब्बाले ५०० को नोट निकालेर मायालाई दिए । मायाको खुशीको सीमा रहेन । एकछिन त उनले हरि सुब्बालाई भगवानको रुपमा देखिन् । त्यसपछि सुब्बालाई लाख लाख धन्यवाद दिंदै हतार हतार घरतिर लागिन् ।

आज उनले आफ्ना छोराछोरीलाइ पेटभरि खुवाउने विचार गरिन् र बजारबाट चाहिने सामानहरु किनेर घरतिर लागिन् । उता तिर्खाएको हरिण जस्तो भएका छोराछोरी आमाको प्रतिक्षामा पलपल गनिरहेका थिए । मायाले आज धेरै मेहेनत गरेर थरिथरि खाना पकाइन् । त्यसपछि, छोराछोरीलाइ पेटभरी खान दिइन् । दङ्ग पर्दै मायाका छोराछोरीले खाना खाए । कहिले भोकै बस्नु पर्ने, कहिले आधा पेट त कहिले पानी मात्र खाएर भोक मेट्नुपर्ने बाध्यता थियो । तर आज एक्कासी यसरी पेटैभरी त्यो पनि थरिथरिका खाना खान पाउँदा उनीहरु चकित थिए ।
आज केहि चाड त होइन ? जस्तो लाग्यो उनीहरुलाई, मायाका छोराछोरीले खाना खाइसकेपछि झन प्रश्न माथि प्रश्न गर्न थाले । आमा आज के हो ? आज केहि चाड हो ? किन हामीले यसरी मिठोमिठो खाएको आमा ? आज दशैं हो ? साँच्चीकै भन्नुस्न आमा आज कुन चाड हो ? छोराछोरीको एकपछि अर्को प्रश्नले माया झसङ्ग भईन् र एक पटक हरि सुब्बालाइ सम्झिइन् ।

ती अवोध बच्चाहरुलाई के थाहा उनको विवशता । छोराछोरीको लागि आज उनले आफुलाई बन्दकी राखेर आएकी छिन् । गरिबीको भेलमा चुर्लुम्मै डुबेकी मायालाई श्रीमानको सम्झना घरी घरी आइरह्यो । अनि पलपल झस्किरहेकी थिइन की छोराछोरीको प्रश्नको जवाफ के फर्काउने । उनी आफैं पनि अचम्म परिरहेकी थिइन् । आज साँच्चिकै केही चाड नै होला त ? आफैंसँग प्रश्न गर्छिन् । अनि एकोहोरो टोलाउँदै केवल त्यो प्रश्नको जवाफ खोजिरहेकी छिन् । आज कुन चाड हो ?

Thursday, September 19, 2013

पर्खाइको पल

बिहानीको सूर्यको किरण आँगनभरी छरपष्ट देखिन्थे । दशैंको लहरसँगै शरद ऋतुको आगमन कता—कता रमाइलो छाए जस्तो अनुभुती हुन्थ्यो । तर यस घरको कथा व्यथा अर्कै थियो । धन कमाउन मुग्लान पसेका गौंथलीका श्रीमानको अहिलेसम्म खबर थिएन । स—साना छोरा छोरी अनि एक्ली गौंथली त्यो झुप्रोमा जसोतसो दिन धकेलिरहेका थिए । दशैं मुखैमा आइसक्यो , गौंथलीका श्रीमान आइपुगेनन् । यसैगरी पोहोर पनि गौंथलीको आशा निराशामा परिणत भएको थियो ।

झिसमीसे साँझ परेपछि गौंथली कामबाट घर फर्किन् । सानो दुइ ढुँगा जोडी बनाइएको चुल्होमा कालो कराइ बसालिन् । सबै भन्ट्याङ्ग भुन्टुङ्ग चुल्होको वरिपरी झुम्मीएका थिए । कुनामा रहेको एउटा ध्वाँसिएको थैलोबाट मकै निकालेर भुट्न थालिन गौंथलीले । केहि छीनमा ती मकै पड्कीन थाले । त्यो मकैका पड्काइसँगै गौंथलीका मनभित्र पनि थुप्रै लहर पड्कीन थाले । यस पटक त उनी आउँदा राम्रो सारी ल्याइदिउँला भनेका छन् । यी छोराछोरीलाइ पनि एक एक जोर लुगा त ल्याइदेलान् । कति रमाइलो होला उनी आएपछि, यस पटक त एक किलो मासु ल्याएर टन्न मासु भात खाने हो । बिचरा यी छोराछोरीले कति भइसक्यो मासु देख्न पनि नपाएको । टन्न खाएर निधारमा राता अक्षता अनि पहेंला जमरा कानमा सिउरेर नयाँ सारीमा माइत जाने अनि त्यो पारी नाउलेको चौतारीमा पिङ्ग खेल्न पनि त जानै पर्‍यो ।

बा आमा कति खुशी होलान् छोरी ज्वाईं सँगै आएको देख्दा । उनी मेरो माइत नगएको पनि धेरै भयो, सधैं मुग्लान जानकै हतार हुन्छ । यसपाली त कर गरी गरी भए पनि उनलाइ माइतीमा लान्छु लान्छु । आफ्नो भने रहर दुइजना सँगै माइत जाने, उनी भने कुरै बुझ्दैनन् । एक्कासी गौंथली झस्किन्छिन् —“आमा भोक लाग्यो” भन्ने आवाजले । मकै डढेर भुसुक्कै भइसकेको उनलाइ पत्तै भएन । प्रत्येक दिन यसरी नै रमाइलो गरी दशैं मनाउने सपना बुन्थिन् ।

त्यो पारीको पाखे भिरमा पुगेर रातो माटो ल्याइ घर लिपी टलक्क पारेकी थिइन गौंथलीले । हर्कको प्रतिक्षामा पलपल गनिरहेकी थिइन् । यो पर्खाइको घडी पार गर्न कति कष्ट सहेकी थिइन त्यो गौंथलीलाइ मात्र थाहा थियो सायद । विचरी गौंथली त्यसै त्यसै छटपटाइरहेकी थिइन अनि कता कता उनी आउने आशाको मिठो अनुभुती  पनि गरिरहेकी थिइन् । 

उनले राखेको जमरा पनि लहलह भइसके । यता उता सकेसम्मको तयारी जुटाइरहेकी थिइन । नवमीको दिन पनि बितीसकेको थियो । साँझ झमक्क पर्दा पनि हर्क आइ पुगेनन् । छोराछोरी सुतिसकेका थिए । गौंथली भने आफ्नो श्रीमानको पर्खाइमा  गोरेटो नियाल्दै थिइन् । भोलिको दशैं, उनी यतिञ्जेल किन आएनन् ? बाटामा केहि भयो कि? बिरामी परे कि? नानाभाँतीका प्रश्नहरु खेल्न थाले उनका मनमा । रातको एक प्रहर वितिसकेपछि  गौंथलीको मनमा रहेको झिनो आशा पनि बिलायो सायद, उनी भित्र पसिन् । जसरी भएपनि टिकासम्म आउँछु भनेका थिए । भारी मन लिइ ओछ्यानमा पल्टिइन्, धेरै बेर मनमा के के कुरा खेलिरहे । बल्लतल्त बिहानीपख निदाइन गौंथली । भोली आफ्ना प्राण प्यारासँग भेट्ने अनि रमाइलो गरि दशैं मनाउने आशामा ।