Saturday, July 27, 2013

बिदाई

सानैमा बाबुले छाडेर गए आमाले पनि केही वर्षपछि उनलाइ एक्लै पारेर संसार  छाडेपछि मामाकै घरमा हुर्किएकी थिइन कमला । मामाको घरमा भए पनि उनी सुखले बस्न खान सकेकी थिइनन् । जतिखेर पनि काममै घोटिनुपर्ने भएकाले पढाइ राम्रो हुन सकेन । माइजुले सार्‍है हेलाँ गर्थिन् । उमेर पनि भइसकेकोले उनका मामाले केटा खोजी उनको बिहे गरिदिए । बिहे पछि बल्ल उनका सुखका दिन शुरु भए । असाध्यै माया गर्ने श्रीमान् ।
कमला त्यसै त्यसै दङ्ग थिइन ठुलो अन्तराल पछी सुखको अनुभूति गर्न पाउँदा । यही बिचमा उनका श्रीमान् आर्मीमा भर्ती भए । दुइ वटा छोरा पनि जन्मिए उनका । जेठो छोरो २ वर्ष र कान्छो छोरो ७ महिनाका भए । कलकलाउँदा मुनाजस्ता रहरलाग्दा भएका छन् उनका छोराहरु । श्रीमान् घरदेखि टाढा भएपनि ती छोराहरुले गर्दा त्यो पीडा बिर्सन सफल भएकी थिइन कमला । बिदा मिलाएर बेला बेलामा घर आइरहन्थे उनका श्रीमान् पनी । उनका श्रीमानका पनि बा आमा कोही थिएनन् त्यसैले पनि कमला माया ममता अनी कमाइको एक्ली हकदार थिइन् । केही समय यता उनका श्रीमान घर पनि आएका छैनन् स्थिति नै त्यस्तै थियो । माओवादी जनयुद्धका कारण आर्मी पुलीसलाइ यताउती निस्कन पनि गार्‍हो थियो त्यसैले पनि बिदा पाइदैनथ्यो सायद ।
भनिन्छ अभागीलाइ भाग्यमानी बनाउन सकिंदैन । सानैमा टुहुरी भएकी कमलाको मरुभुमीजस्तो जीवनमा भर्खरै फुल फुल्ने आशा देखिएको थियो, तर त्यो फुल पनि फक्रिन नपाउँदै ओइलायो ।

उनका श्रीमान एक जनयुद्धका शिकार भए । भगवान पनि कति निष्ठुरी हुँदो रहेछ उनका श्रीमानलाइ चटक्कै चुँडेर उनीदेखि धेरै टाढा लगिदियो । बिचरी कमलाको जीवनमा भर्खरै उदाउन लागेको सुर्यलाइ कालो बादलले पुरै ढाकिदियो । ओइलाएको फुल झैं भएकी कमला आफ्ना श्रीमानलाइ भेट्न हिंडिन् । श्रीमानको खोजीमा निस्कीएका अरु प्रहरी जवानका साथ उनी पनि गएकी थिइन् । घना जंगलको बिचमा एउटा सानो खोल्सामा उनको श्रीमानको टाउको मात्र फेला पर्‍यो । छिनीएको टाउकोबाट रगत अझैं बगीरहेको थियो । दिनभरको खोजतलासले पनि उनका श्रीमानको शरिर कहाँ पुग्यो खोजखबर हुन सकेन । कमला भने त्यो टाउकोलाइ काखी च्यापेर त्यो अनुसन्धान टोलीको पछि पछि लागिरहेकी थिइन । उनको होसहवास केही थिएन सपना विपना केही छुट्याउन सकेकी थिइनन् । बेलाबेलामा त्यो टाउको हातमा लिन्थीन् अनी के के बर्बाउँथीन् । कहिले काखमा लिन्थीन् त कहिले चुम्थिन अनि कहिले अंकमाल गर्दै रुन्थिन् । "उहाँ निदाइहनु भएको छ धेरै हल्ला नगर है" भन्दै थुम्थुमाउँथीन् । उनीसँग रहेका सबैले उनलाइ सम्झाउँदै थिए तर त्यसले उनलाइ कुनै असर गरेको थिएन । एकछिन पछि झसङ्ग भएर के सम्झेजस्तो गरी उठिन् र त्यो टाउको बोकी हिंड्न थालिन् ।
उता घरमा छिमेकीका भरमा रहेका छोराहरुको सम्झनासम्म भएको थिएन उनलाइ । भौंतारिदै त्यो रक्ताम्य टाउको बोकी बर्बराउँदै हिंडीरहेकी थिइन् । 'मलाइ कसको भरमा छोडेर जानुभाको हजुर, हजुर विनाको यो संसार मेरो के काम । हजुरलाइ मेरो र छोराहरुको माया लागेन । हामीलाइ टुहुरा बनाएर ......................., भर्खर त बाबा भन्न सिक्दैछ आकाशले, अब कसलाइ बाबा भनेर बोलाउँछ?'

उनलाइ त्यसरी रगतले क्षतविक्षत भएको टाउको बोकेर हिंडेको देखेर बाटामा भेटिने मानिसहरु दङ्ग पर्दै हेरिरहेका थिए । उनी त्यो टाउको बोकी प्रशासन लगायत थुप्रै ठाउँ पुगिन् न्याय माग्न । "हजुर मेरो श्रीमानको यो अवस्था भो अब म कसको सहारामा बाँच्ने, म कहाँ जाउँ, के गरुँ" । यस्तै यस्तै प्रश्न सबैलाइ गर्दै बिलौना सुनाउँदै हिंड्न थालिन् । केहि दिनदेखी बोकेर हिंडेको त्यो टाउकोबाट गन्ध आइरहेको थियो अनि झिङ्गा पनि भन्किन थालेको थियो ।

जिङ्गरिङ्ग कपाल, ख्याउटे अनुहार, रगतै रगतले लतपतिएको कपडा अनि अंगालोमा श्रीमानको टाउको बोकेर भौंतारिदै हिडेकी कमलाले कहीं कतैबाट सान्त्वना पाउन सकिनन् । सबै जनाले - "यस्तो पिडा हजारौंलाइ परेको छ कति जनालाइ अनि कस्तो न्याय दिने" भनेर उल्टै प्रश्न तेर्साए । विक्षीप्त अवस्थामा पुगेकी कमला आशाका बाटाहरु सबै बन्द भएपछि त्यही टाउकोसँग बिलौना गर्न थालिन् । हिंड्दाहिंड्दै ढुङ्गामा ठोकिइन उनी त्यो टाउको उछिट्टीएर पर पुग्यो । उनी दौडदै गइन र उठाइन । अनि कतै चोट लाग्यो कि, केही भयो की भन्दै सुम्सुम्याउन थालिन् । "हजुर त लडाइँमा जाने, दुश्मनसँग लड्ने मान्छे केहि भयो भने फेरी कसरी आफ्नो कर्तव्य पुरा गर्नुहोला" भन्दै थिइन उनी । उनका आफन्त र छिमेकीहरु पनि आइपुगे उनीलाइ खोज्दै । उनीलाइ सम्झाउँदै घर पुर्‍याए अनि दाहसंस्कारको लागि तयारी गर्न थाले ।

कमलाको अवस्था झनै बिग्रंदो थियो । "उहाँ त छुट्टीमा आउनुभएको, भोली त जानुहुन्छ । देशको लागि लड्ने मानिसलाइ पनि कसैले केहि गर्न सक्छ र ? उहाँलाइ कसैले मार्न सक्दैन, उहाँ अमर हुनुहुन्छ । मेरा छोराहरु टुहुरा हुन सक्दैनन् । महान् र अमर मानिसका सन्तान कहिल्यै टुहुरा हुँदैनन् ।"

अनि गर्व गर्दै भन्दैथिइन - "कसैले मलाइ के को न्याय दिनुपर्‍यो? त्यस्ता नाम मात्रका ठुलाबडा अनि देशको सेवाको आडम्बरमा आफ्नो स्वार्थ लुट्नेहरुले के न्याय दिन सक्थे मलाइ । म गर्व गर्छु कि एक शहिदको श्रीमती हुन पाएकोमा । म पुजा गर्छु उहाँको महानताको, म कमजोर हुनु हुँदैन । म कमजोर भएँ भने भोली देशको लागि लड्ने यी छोराहरु कसरी अघि बढ्न सक्छन् ?"
त्यसपछि उनले श्रीमानको अर्थीमा फुलमाला पहिर्‍याइ रङ्ग र अबिरले सुसज्जीत पार्दै गर्वसाथ बिदाइ गरिन् । अन्तिम बिदाइ अनि श्रद्धाको बिदाइ । .......... "श्रद्धाको बिदाइ"

No comments:

Post a Comment