Thursday, September 19, 2013

पर्खाइको पल

बिहानीको सूर्यको किरण आँगनभरी छरपष्ट देखिन्थे । दशैंको लहरसँगै शरद ऋतुको आगमन कता—कता रमाइलो छाए जस्तो अनुभुती हुन्थ्यो । तर यस घरको कथा व्यथा अर्कै थियो । धन कमाउन मुग्लान पसेका गौंथलीका श्रीमानको अहिलेसम्म खबर थिएन । स—साना छोरा छोरी अनि एक्ली गौंथली त्यो झुप्रोमा जसोतसो दिन धकेलिरहेका थिए । दशैं मुखैमा आइसक्यो , गौंथलीका श्रीमान आइपुगेनन् । यसैगरी पोहोर पनि गौंथलीको आशा निराशामा परिणत भएको थियो ।

झिसमीसे साँझ परेपछि गौंथली कामबाट घर फर्किन् । सानो दुइ ढुँगा जोडी बनाइएको चुल्होमा कालो कराइ बसालिन् । सबै भन्ट्याङ्ग भुन्टुङ्ग चुल्होको वरिपरी झुम्मीएका थिए । कुनामा रहेको एउटा ध्वाँसिएको थैलोबाट मकै निकालेर भुट्न थालिन गौंथलीले । केहि छीनमा ती मकै पड्कीन थाले । त्यो मकैका पड्काइसँगै गौंथलीका मनभित्र पनि थुप्रै लहर पड्कीन थाले । यस पटक त उनी आउँदा राम्रो सारी ल्याइदिउँला भनेका छन् । यी छोराछोरीलाइ पनि एक एक जोर लुगा त ल्याइदेलान् । कति रमाइलो होला उनी आएपछि, यस पटक त एक किलो मासु ल्याएर टन्न मासु भात खाने हो । बिचरा यी छोराछोरीले कति भइसक्यो मासु देख्न पनि नपाएको । टन्न खाएर निधारमा राता अक्षता अनि पहेंला जमरा कानमा सिउरेर नयाँ सारीमा माइत जाने अनि त्यो पारी नाउलेको चौतारीमा पिङ्ग खेल्न पनि त जानै पर्‍यो ।

बा आमा कति खुशी होलान् छोरी ज्वाईं सँगै आएको देख्दा । उनी मेरो माइत नगएको पनि धेरै भयो, सधैं मुग्लान जानकै हतार हुन्छ । यसपाली त कर गरी गरी भए पनि उनलाइ माइतीमा लान्छु लान्छु । आफ्नो भने रहर दुइजना सँगै माइत जाने, उनी भने कुरै बुझ्दैनन् । एक्कासी गौंथली झस्किन्छिन् —“आमा भोक लाग्यो” भन्ने आवाजले । मकै डढेर भुसुक्कै भइसकेको उनलाइ पत्तै भएन । प्रत्येक दिन यसरी नै रमाइलो गरी दशैं मनाउने सपना बुन्थिन् ।

त्यो पारीको पाखे भिरमा पुगेर रातो माटो ल्याइ घर लिपी टलक्क पारेकी थिइन गौंथलीले । हर्कको प्रतिक्षामा पलपल गनिरहेकी थिइन् । यो पर्खाइको घडी पार गर्न कति कष्ट सहेकी थिइन त्यो गौंथलीलाइ मात्र थाहा थियो सायद । विचरी गौंथली त्यसै त्यसै छटपटाइरहेकी थिइन अनि कता कता उनी आउने आशाको मिठो अनुभुती  पनि गरिरहेकी थिइन् । 

उनले राखेको जमरा पनि लहलह भइसके । यता उता सकेसम्मको तयारी जुटाइरहेकी थिइन । नवमीको दिन पनि बितीसकेको थियो । साँझ झमक्क पर्दा पनि हर्क आइ पुगेनन् । छोराछोरी सुतिसकेका थिए । गौंथली भने आफ्नो श्रीमानको पर्खाइमा  गोरेटो नियाल्दै थिइन् । भोलिको दशैं, उनी यतिञ्जेल किन आएनन् ? बाटामा केहि भयो कि? बिरामी परे कि? नानाभाँतीका प्रश्नहरु खेल्न थाले उनका मनमा । रातको एक प्रहर वितिसकेपछि  गौंथलीको मनमा रहेको झिनो आशा पनि बिलायो सायद, उनी भित्र पसिन् । जसरी भएपनि टिकासम्म आउँछु भनेका थिए । भारी मन लिइ ओछ्यानमा पल्टिइन्, धेरै बेर मनमा के के कुरा खेलिरहे । बल्लतल्त बिहानीपख निदाइन गौंथली । भोली आफ्ना प्राण प्यारासँग भेट्ने अनि रमाइलो गरि दशैं मनाउने आशामा ।

2 comments: