Thursday, September 5, 2013

हरितालिका तीज: संस्कृति कि विकृती??


हिन्दु नारीहरुको महान पर्व हरितालिका तीज । हाम्रो धर्म संस्कृति बमोजिम यसको महत्व बेग्लै छ । माता पार्वतीले आफ्ना पति श्री महादेवको दिर्घायु तथा शकुशलताका लागि व्रत बसेकी थिइन् । पछि बिस्तारै पति हुनेले पतिको दिर्घायु तथा सफलताका लागि र नहुनेले पनि राम्रो तथा असल पतिको कामना गर्दै यो व्रत बस्ने प्रचलन शुरु भयो । प्राचीन कालमा संचार–माध्यमको उपलब्धता थिएन, एक आपसमा भेटघाट र मनका कुराहरु साटासाट गर्नेे भनेकै चाडवाडको अवसरले हुने गर्दथ्यो । चेलीबेटीका लागि त झन् तीज नै विशेष मानिन्थ्यो । वर्षभरीको थकाई मेटाउने मौका हुन्थ्यो । माइती गएर आफ्ना आमा बाबु, दाजु–भाई, दिदी–बहिनी तथा आफन्तजन भेटघाटका साथै मिठो मसिनो खाने प्रचलन थियो । तर बिस्तारै संचार–माध्यमको विकास र विस्तारले यो दुरी मेटाइदिएको छ । तीजका अवसरमा दिदी बहिनीहरुको जमघट, नाचगान रमाइलो गर्ने प्रचलन पनि हाम्रो समुदायमा विद्यमान छ । जसले गर्दा केहि समय भए पनि हाम्रा दिदी बहिनीहरु फुर्सदिलो अनुभव गर्न र दुःख कष्ट भुलाउन सक्छन् । अँझ रमाईलो कुरा के छ भने तीजका समयमा माईत जाने बेलाको मुखैमा बाबुको मुख हेर्ने औँसी पर्नुलाई एकै यात्रामा दुईवटा चाड मनाउन पाउने अवसरका रुपमा पनि हेर्न सकिन्छ ।

साँस्कृतिक र पारिवारिक महत्वको यो पर्व पछिल्ला दिनहरुमा बढ्दै गएको विकृतिले गर्दा कतै नचाहिने तडकभडकको प्रतिक हुन थालेको त हैन भन्ने पनि लाग्न थालेको छ । यस्ता देखावटी तडकभडकले यो पर्वको महत्वलाई धमिल्याएको महसुस गर्न सकिन्छ । तीज आउनभन्दा २, ३ महिना अघिदेखि नै बजारमा कानै फुट्नेगरी चर्का चर्का स्वरमा बज्ने ब्यवसायिक गीतहरु, एक महिना अघिदेखि नै दर खाने कार्यक्रम हुनु र देखासिकीका लागि महँगा गरगहना र लुगाफाटोको शुसुप्त प्रतिस्प्रर्धा हुनुलाई अनावश्यक तडक–भडक तथा देखावटीको संज्ञा दिन सकिन्छ । तर हाम्रा अधिकांश दिदी बहिनीहरु झन–झन हौसिएर यसैमा अल्झिएको देख्दा अचम्म पनि लाग्छ कहिलेकाँही र सोच्न मनलाग्छ,  कतै हाम्रो देश यिनै कुराहरुले गर्दा पनि पछाडि परेको त हैन ? चाडवाडका नाममा महिनौँ यसैमा अल्झिने, औकात भन्दा १० गुणा बढी खर्च गर्न तत्पर हुने, ऋण नै काढेर भएपनि भोज गर्नुपर्ने, अर्काले हात्ती चढ्दा आफुले धुरी भएपनि चढ्नै पर्ने ।

हुन पनि यतिखेर देखिरहेकी छु, सुनिरहेकी छु, पल्लोघरे कान्छी दिदीले २ तोलाको तीलहरी बनाईन्, तल्लोघरे साँइली दिदीले दश हजारको सारी किनिन् म पनि यसपाली किनेरै छाड्छु भन्ने आवाजहरु । यस्तै अचम्मका अठोट लिई श्रीमान्लाई फकाएर हुन्छ कि बाली बेचेर हुन्छ, अथवा बनिबुतो गरि जोगाएर राखेको समूहबाट ऋण निकालेर नै किन नहोस, देखाउनका लागि नयाँ सारी लगाउनै पर्ने, नयाँ गहना किन्नै पर्ने हुन्छ हाम्रा दिदीबहिनीहरुलाई । हैन, यसरी बनिबुतो गरेर जोगाएर समुहमा बचत गरेको पैसा त खर्च नगरेपनि हुने नि भन्दा जवाफ आउँछ, एकबारको जुनी हो, मरेपछि लाउन खान पाँईदैन, जोगाएर केलाई साँच्नु ? मानौ कि उनको अन्तीम ईच्छा यही हो भोली उनको अन्तिम संस्कार हुँदैछ । भोलिको भविष्यको टुँगो छैन, आज भएको जति आजै उडाउँ भन्ने सोचले गर्दा नै हामी पछाडि परिरहेका छौँ सायद । फलानीले लगाई भने मैले किन नसक्ने भन्ने खालको अहमताले भरिपुर्ण मानसिकताले नेपाली नारीहरुलाई पछाडि पारिरहेको छ सायद । विदेशीहरुलाई हेर्ने हो भने उनीहरुलाई भाँङ्ग्राको लुगा भएपनि भएकै छ, सुतीको भएपनि भएकै छ । त्यसैले त पाउरोटी खाएरै भएपनि चन्द्रमामा चढ्ने सामथ्र्य राख्छन् उनीहरु । हामी भने जति नै हिराको हार र बनारसी साडी लगाएपनि, सुद्ध घिउ हालेको चिल्लो भात खाएपनि सगरमाथा समेत चढ्ने हिम्मत गर्दैनौँ जति लाउने खाने कुरामा आँटिलो हिम्मत गर्छौँ ऋण नै काढेर भएपनि ।

आजभोलि हेर्छु विकृति र विसंगतिले नेपाली समाजलाई झन झन जकड्दै छ । आमसंचारमाध्यमहरुले यस्ता कुराहरुलाई चिर्नुको साटो झनझन मलजल गरिरहेको जस्तो लाग्छ । यसको उदाहरण बिहान बिहान समाचार र सुचनाको समयमा हाम्रा टेलिभिजनहरुमा आउने तिजका अनौठा अनौठा गीतहरुको बिज्ञापनलाई हेरे पुग्छ । ब्यवसाय र पेशाका नाममा सस्ता कुराहरुलाई पनि गीत नै बनाउने र बेच्ने कलाकारहरु एवं तिनै गीतहरुलाई पैसा कमाउने नाममा मागेको समय उपलब्ध गराउने हाम्रा टेलिभिजनहरु र नेपाली समाज बिच तुलना गर्छु हाँसो उठेर आउँछ । अनी सोच्छु हामी कताको बाटो तय गर्दैछौँ ? प्रगतिको कि दुर्गतीको ? जसरी लाउने खाने कुराको लागि प्रतिष्पर्धा हुन्छ, त्यसको साटो अन्य प्रगतिका लागि प्रतिष्पर्धा हुनु आवश्यक छ । कलाकारहरुले यीनै प्रगतीका गीतहरु गाउनुपर्छ, टिभी र रेडियोहरुले तिनै प्रगतीका समाचारहरुलाई प्राथमिकता दिनुपर्छ, अनि पो समाज प्रगतिपथमा लम्किन सक्छ । प्रगतिको बाटो अंगाल्नका लागि प्रतिष्पर्धा त अपरिहार्य नै हुन्छ तर त्यसको लागि महँगो साडी लगाउने र महँगा गरगहना लगाउने प्रतिस्पर्धा हैन सकारात्मक प्रतिष्पर्धा हुनुपर्छ सायद ।

हाम्रो समुदायको विकासका लागि हाम्रो मानसिकता, परम्परागत धारणामा पहिले परिवर्तन ल्याउनु जरुरी छ । महंगो लुगा र महँगा गहना लगाउंदैमा उसको व्यक्तित्वको स्तर बढ्छ भन्ने मानसिकताबाट टाढा रहनुपर्छ भन्ने लाग्छ । संचारमाध्यमहरुको बढ्दो संख्याले हाम्रा लोप हुन लागेका चाडपर्वलाई जगेर्ना गर्न ठूलो भूमिका निर्वाह पनि गरेको छ तर संगसंगै यी पर्वहरुमा आईरहेका विकृतिहरुलाई समेत यीनै संचारमाध्यमहरुले चिर्न जरुरी छ । बढ्दो शहरीकरणले हाम्रा चाडपर्वलाई असर गरिरहेको समयमा संचारमाध्यमहरुले निभ्न लागेको दियोमा तेल थप्ने काम चाहिं पक्कै गरेका छन तर यीनै संचारमाध्यमहरुले यो कुरा पनि बिर्सनु हुदैन कि, ती कार्यक्रमले जनमानसमा कस्तो सन्देश दिईरहेका छन ? हाम्रो संस्कृतिको जगेर्ना भईरहेको छ वा विकृति फैल्याउन टेवा दिइरहेको छ । अन्त्यमा, तीजलाई मेलमिलाप र उत्साहको पर्वको रुपमा मनाउँ, यसमा रहेका विकृति र विसंगतीहरुलाई त्यागौँ, सम्पुर्ण हिन्दु नारीहरुमा हरितालिका तीजको हार्दिक मंगलमय शुभकामना ।।

No comments:

Post a Comment