Wednesday, October 23, 2013

आज कुन चाड हो ?

सांझ पर्न लागिसकेको थियो । अस्ताउने तरखरमा रहेको सूर्यले डाँडापारीबाट टुलुटुलु हेरिरहेको थियो । मलिन मुद्रामा निराशा सहित आज पनि माया बसपार्कबाट घर फर्कंदैछिन् । आज लगातार तीन दिन भइसक्यो उनी निराश भई फर्किन थालेको । बसका यात्रीहरुको भारी बोकी आफ्ना दैनिक गुजारा गर्ने गर्थिन् उनी । तर, यस पटक लामो बन्दको कारण उनको दैनिक क्रियाकलाप पनि ठप्प भएको छ ।

घर गएर छोराछोरीलाई के भन्ने के खान दिने यस्तै कुरा मनमा खेलाउँदै बल्लतल्ल घर पुगिन् माया । कतिबेला आमा घर आइपुग्लिन र खाने कुरा खान पाइएला भन्ने पर्खाइमा बसेका उनका दुइ छोरी र एक छोरा उनलाइ देख्नासाथ झ्याउँझ्याउँ गर्न थालिहाले भोक लाग्यो भोक लाग्यो भन्दै । हुन पनि किन नभनुन् आज तीन दिन भइसक्यो बिचराहरुको पेटमा एक दाना अन्न नपरेको । बन्दको कारणले छोराछोरीको भार थाम्न नसक्ने भैसकेकी थिइन् बिचरी माया । कुनै उपाय थिएन उनको सामु, अन्यत्र केहि काम पाइँदैन । जुन काम पाउँथिन त्यसको कुनै निश्चीतता थिएन ।

फकाइ फुल्याइ पानी खुवाउँथिन अनि सुताउँथिन आफ्ना छोराछोरीलाइ उनले । यहि दिनचर्या थियो उनको आजसम्म । तर आज त असह्य भइसक्यो उनीहरुलाइ । आज पानी खाएर सुत्न सकिरहेका छैनन् उनीहरु । माया आफैं पनि ग्रस्त थिइन भोकले । समय र परिस्थितिले कस्तो मोडमा ल्याइदिएको छ उनलाई । उनका श्रीमानले संसार छोडेको पनि चार वर्ष भइसक्यो । उनी एक्लैले जसरी तसरी घर धानिरहेकी थिइन् । केहि बेरपछि आफ्ना छोराछोरीलाई केहि खानेकुरा ल्याएर आउने आश्वासन दिंदै घरबाट बाहिर निस्कीन् । तर उनको हात थाप्ने ठाउँ थिएन । जो जो चिनेजानेका थिए उनीहरु सबै उनी जस्तै अवस्थामा थिए । गन्तव्यहिन पाईला अघि बढाइरहेकी थिइन् उनले । हिँड्दा हिँड्दै उनी गाउँका धनी भनि कहलिएका हरि सुब्बाकहाँ पुगिन् । उनलाइ होश पनि थिएन कसरी उनी त्यहाँसम्म पुगिन् । अर्धचेतन अवस्थामा उनी हरि सुब्बासँग पैसा दिन आग्रह गर्दै थिइन् । केहि छिनको वार्तालाप पछि हरि सुब्बाले ५०० को नोट निकालेर मायालाई दिए । मायाको खुशीको सीमा रहेन । एकछिन त उनले हरि सुब्बालाई भगवानको रुपमा देखिन् । त्यसपछि सुब्बालाई लाख लाख धन्यवाद दिंदै हतार हतार घरतिर लागिन् ।

आज उनले आफ्ना छोराछोरीलाइ पेटभरि खुवाउने विचार गरिन् र बजारबाट चाहिने सामानहरु किनेर घरतिर लागिन् । उता तिर्खाएको हरिण जस्तो भएका छोराछोरी आमाको प्रतिक्षामा पलपल गनिरहेका थिए । मायाले आज धेरै मेहेनत गरेर थरिथरि खाना पकाइन् । त्यसपछि, छोराछोरीलाइ पेटभरी खान दिइन् । दङ्ग पर्दै मायाका छोराछोरीले खाना खाए । कहिले भोकै बस्नु पर्ने, कहिले आधा पेट त कहिले पानी मात्र खाएर भोक मेट्नुपर्ने बाध्यता थियो । तर आज एक्कासी यसरी पेटैभरी त्यो पनि थरिथरिका खाना खान पाउँदा उनीहरु चकित थिए ।
आज केहि चाड त होइन ? जस्तो लाग्यो उनीहरुलाई, मायाका छोराछोरीले खाना खाइसकेपछि झन प्रश्न माथि प्रश्न गर्न थाले । आमा आज के हो ? आज केहि चाड हो ? किन हामीले यसरी मिठोमिठो खाएको आमा ? आज दशैं हो ? साँच्चीकै भन्नुस्न आमा आज कुन चाड हो ? छोराछोरीको एकपछि अर्को प्रश्नले माया झसङ्ग भईन् र एक पटक हरि सुब्बालाइ सम्झिइन् ।

ती अवोध बच्चाहरुलाई के थाहा उनको विवशता । छोराछोरीको लागि आज उनले आफुलाई बन्दकी राखेर आएकी छिन् । गरिबीको भेलमा चुर्लुम्मै डुबेकी मायालाई श्रीमानको सम्झना घरी घरी आइरह्यो । अनि पलपल झस्किरहेकी थिइन की छोराछोरीको प्रश्नको जवाफ के फर्काउने । उनी आफैं पनि अचम्म परिरहेकी थिइन् । आज साँच्चिकै केही चाड नै होला त ? आफैंसँग प्रश्न गर्छिन् । अनि एकोहोरो टोलाउँदै केवल त्यो प्रश्नको जवाफ खोजिरहेकी छिन् । आज कुन चाड हो ?

3 comments:

  1. १ नारी बादी बिचार ।
    २ सम्पन्ता र बिपन्ता ।
    ३ सहरी रोजगारीको एक घटना ( भरिया जीवन)
    ४ पुरुष नभएका धेरै परिवारहरुको कथा जहाँ दिगो प्रकारको रोजगारीको अभाव छ ।
    ५ मिठो र राम्रो खाने चार्डबाड नै आउनु पर्ने नेपाली समाजको परिदृष्य ।

    ReplyDelete
  2. नारी बादी बिचार ।
    मिठो र राम्रो खान चार्डबाड नै आउनु पर्ने ।
    सम्पनता र बिपन्ता ।
    सहरी बेरोजगारीको दृष्टान्त ।
    पुरुप बिहिन नेपाली परीवारको कारुणिक कथा ।

    ReplyDelete
  3. Thanks for your compliments............ Hope to get same in future :)

    ReplyDelete