Monday, September 2, 2013

तिमी नहुँदाको पल


धेरै दिनको यात्रा पछी आज घर फर्कें । घर अनि देशै छोड्दाको अनुभव पहिलो पटक अनुभुत गर्न पाएकी थिएँ । लामो यात्राको थकान अनि यात्रामा भएका ती रमाइला अनुभुतीहरुलाइ सँगालेर फर्केकी थिएँ म । करिव ६:१५ मा काठमाण्डौको त्रिभुवन अन्तर्राष्ट्रीय विमानस्थलमा झरेका थियौं हामी जम्मा ७ जनाको टीम । 

ओर्लनासाथ नम्बर डायल गरिहालें उनलाइ, कतिबेला नेपाल पुगुँला अनि उनलाइ भेटुँला, त्यो यात्राका बारेमा एक पल नछोडी उनलाइ सुनाउँला भन्ने एक किसीमको आतुरता अनि छुट्टै किसिमको खलबली थियो मनमा । उनी बाहिर जाने योजना पहिलेदेखि नै फिक्स थियो तर पनि कता कता आशा थियो कि उनी आज मलाइ लिन एयरपोर्ट आइपुग्छन होला छोरीका साथमा,  म कति आश्चर्य चकित हुन्छुहोला । यस्तै यस्तै सपना बुन्दै थियो मनले तर उनी त आफ्ना कामका दौरानमा काठमाण्डौ छोडिसकेका रैछन् । उनीलाइ त भेट्न नसक्ने भएँ तर छोरीलाइ भेट्ने कौतुहलता अनि उसलाइ ल्याइदिएका कपडाका साथै अन्य चीजहरु देख्दा कति रमाउँछे होला भन्ने कल्पनाले मन त्यसै आनन्दीत थियो । कति बेला घर पुगिएला अनि छोरीलाइ एक पटक गमलङ्ग अँगालो हाली माया बर्साउँला जस्तो भइरहेको थियो । 

आफ्ना लगेजहरु लिइ हामी ७ जनाका टिम घरतिर हानियौं, सबै जनालाइ घर पुग्ने उस्तै हतार थियो सायद । म अनि अर्का एक जना मित्रको वासस्थान एकैतिर पर्ने भएकाले हामी दुइ जना एउटा ट्याक्सी लिइ हिंड्यौ, सबैलाइ बाइ गर्दै । सँगै आएका मित्रलाइ उहाँको घरछेवैमा छोड्दै म गन्तव्यतिर लागें । छोरीलाइ बाहिर आउनलाइ फोन गरिसकेको थिएँ । ट्याक्सीले घरछेवैको सानो फलामे पुल नजिकै लगेर छोडिदियो । त्यहींनेर मेरा सबै बहिनीहरुका साथ छोरी मेरो पर्खाइमा बसिरहेकी थिइन् । ब्यागेजहरु सबै बहिनीहरुले बोके म भने छोरीलाइ काखमा लिइ उसैसँग प्रेमालाप गर्दै घरतिर लागें । म पुग्दाको दिन जनै पुर्णीमा परेको रहेछ । छोरिले हातमा राखी बानेकी थिइ अनि आज उसका सानो मामुहरुले उसलाइ नयाँ लुगा लाइवरी आइसक्रीम पनि खुवाएछन् । उ दङ्ग पर्दै सबै कुरा मलाइ सविस्तार लाउँदै थिइ । जति दिन मसँग टाढा भइ सबै दिनको वर्णन गरेर सकाइ उसले । म भने उसलाइ घरी घरी काखमा लिंदै म्वाइ खाँदै, उसलाइ हेर्दै दङ्ग थिएँ । कति गार्‍हो हुन्छ छोराछोरीदेखि टाढा भएर बस्न भन्ने कुराको मजाले अनुभुत गरेकी थिएँ मैले यसपाली । उसलाइ ल्याइदिएका सबै लुगा देखाएँ, दङ्ग पर्दै सबै लुगा ट्राइ गर्दै थिइ । सानो भए पनि सम्झना स्वरुप ल्याइदिएका कोशेलीहरु सबैलाइ दिएँ । सबैजना खुशी थिए केही न केही कोशेली पाएकोमा, मलाइ भने यात्राको थकाइले कतिबेला बिस्तारामा ढलुँला जस्तो भैरहेको थियो । भात खान नपाएको नी थुप्रो दिन भैसकेको थियो त्यसैले टन्नै भात खाँए अनि सुत्ने तरखर गर्न थालें । 

घर पनि पुगियो छोरी भेटियो सबै जनालाइ भेटियो । तर उनलाइ घरमा देख्न अनि भेट्न नपाउँदा कता कता त्यो खुशीले पुर्णता पाउन नसकेको जस्तो भैरहेको थियो मलाइ । फोनमा कुरा त भो । तर प्रत्यक्ष भेट्न नपाउँदाको खालीपना केहिले भर्न सकेन । उनलाइ सुनाउने कति कुरा थिए अनि उनलाइ ल्याइदिएका ती प्रेममिश्रीत उपहारहरु । सबै चीज ब्यागमै थन्कीए । उनी आउञ्जेलसम्म सबै कुरा बासी हुन्छ अनि कति कुरा त म आफैंले बिर्सीसक्छु होला । यस्तै यस्तै लागिरहेको थियो मनमा । यतिका वर्ष भैसक्यो बिहे भएको तर अझैं पनि त्यो पहिलो भेटवाला अनुभुती भइरहन्छ । मुटु दुखेजस्तो हुने, कता कता कस्तो कस्तो दुखाइ अनि छटपटी फिल हुने । आज त्यस्तै भैरहेको थियो मलाइ । कहिले होला आउने दिन अनि दिनभरी रातभरी बसेर उनीसँग गफ गरुँला भनेर छटपटी भैरह्यो । निदाउने कोशिश गर्छु तर घरी घरी उनको सम्झना अनि तस्वीर मानसपटलमा आइरहन्छ । अनि एकाएक उनीलाइ आँखा अगाडि देखें त्यसपछि उनको काखमा आफ्नो शिर राखी सबै बेलीविस्तार लाउन थालें । एकछिन पछि झसङ्ग भएँ अहो त्यो त कल्पना पो रहेछ । हैन आज के भएको मलाइ यस्तो । साँची मान्छेहरु भन्थे सम्बन्ध जति पुरानो भो उति प्रगाढ हुन्छ भनेर साँच्चै रैछ की क्या हो । म त पागलै हुन थाँले, भएन अब त सुत्न प्रयास गर्छु । जवरजस्ती आँखा चिम्लें तर उनको याद मेरो मानसपटलमा आइरह्यो आइरह्यो त्यो यादलाइ कसैगरी छल्न सकिन अनि त्यही यादसँग कल्पना मै भए पनि रमाइरहें रमाइरहें ।। .................................................................................................................... ।।।।।

No comments:

Post a Comment